मजदुरीका लागि भारत गएका नेपालीहरु फर्किने क्रम बढेसँगै उनीहरुको व्यवस्थापन र परीक्षण चुनौतीपूर्ण बनेको छ । सीमा नाकामा विना परीक्षण आएका उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टिन गर्ने भनिएको छ ।
तर धेरै क्वारेन्टिनमा मापदण्ड पुगेको छैन भने कतिपयको अवस्था निकै दयनीय छ । एउटै कोठामा १५/२० जना कोचिएर बस्नेदेखि शौचालयसमेत एउटै रहेको पाइएको छ । बाँकेको नरैनापुरमा त संक्रमितको समयमै अस्पताल पुर्याउन नसक्दा क्वारेन्टिनमै मृत्यु भएको छ । धेरै क्वारेन्टिनस्थल कोरोना फैलाने अखडा बन्ने खतरा रहेको जनश्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिममा रहेकाहरुलाई कसरी सुरक्षित रुपमा क्वारेन्टिन गर्न सकिन्छ ? कहिले र कुन विधिबाट परीक्षण गर्नुपर्छ ? यही विषयमा गरिएको कुराकानीका आधारमा जनस्वास्थ्य विज्ञ डा. किरणराज पाण्डेको विचार :
अहिले भारतबाट नेपाल आउनेहरूको व्यवस्थापन, क्वारेन्टिन र टेस्टिङ कसरी गर्ने भन्ने विषयमा बहस चलिरहेको छ । यी कामहरू गर्न जटिल पनि छ र सजिलो पनि छ । अहिले जे जसरी क्वारेन्टिन, टेस्ट र आइसोलसनको काम भएको छ, त्यो गलत भएको छ ।
म के–के गलत भयो भन्दा पनि कसरी सही गर्न सकिन्छ भन्ने कुरा राख्छु । अहिले सबैभन्दा पहिले गर्नुपर्ने महत्वपूर्ण काम भनेको क्वारेन्टिन हो । तर अहिलेको जस्तो होइन, एकदम व्यवस्थित, सामाजिक दुरी कायम गरिएको क्वारेन्टिन । त्यसो हुँदा अहिलेको जस्तो क्वारेन्टिनबाटै संक्रमण सर्दैन । भारतबाट नेपाल छिर्दा १४ दिन व्यवस्थित क्वारेन्टिनमा राख्नैपर्छ ।
हामीसँग भएका आरडीटी होस् या पीसीआर कुनै पनि टेस्टले संक्रमण भएको वा नभएको ग्यारेन्टी गर्न सक्दैन । त्यसैले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्छ ।
आरटी–पीसीआरमा के हुन्छ भने मानिस जुन दिन भाइरससँग एक्सपोज हुन्छ, त्यसको पाँचदेखि १० दिनसम्म पोजेटिभ आउने सम्भावना हुन्छ । त्यसो गर्दा पनि कुल पोजेटिभ आउने सम्भावना ६० देखि ७० प्रतिशतभन्दामाथि जाँदैन । संक्रमण भएको ८ औं दिनमा जाँच गर्दा नेगेटिभ हुने सम्भावना कम हुन्छ भनिन्छ । त्यो दिनमा पनि २० प्रतिशत त नेगेटिभ आउने सम्भावना हुन्छ ।
सोही कारण आरटी–पीसीआर नेगेटिभ आएपनि क्वारेन्टिनमा १४ दिन बस्नुपर्छ । १४ दिन नै किन भनिएको हो भने अधिकांश मान्छेहरू, जसमा पाँचदेखि सात दिनमा लक्षण सुरु हुन्छ र १०/११ दिनपछि उनीहरूले संक्रमण सार्ने सम्भावना एकदम कम हुन्छ ।
त्यसैले टेस्ट पोजेटिभ आयो कि नेगेटिभ आयो भन्ने कुरासँग मतलब हुन्न । बरु मानिसले अरूलाई संक्रमण सार्न सक्छ कि सक्दैन भन्ने कुराको विशेष महत्व हुन्छ ।
जर्मनीमा भएको एउटा अनुसन्धानले पाँचदेखि १० दिनसम्म आरटी–पीसीआर गर्दा सबैजसोमा पोजेटिभ आएको देखायो । ११ औं दिनपछि पोजेटिभ आउने क्रम ४० प्रतिशत घट्यो । तर, केही मानिसमा ३/४ हप्तासम्म पनि पोजेटिभ आयो । तर, त्यो खासै महत्वपूर्ण भएन । किनकी दुई हप्तापछि पोजेटिभ देखिए पनि ती मानिसहरूमा जीवित भाइरस देखिएन । जीवित भाइरस नदेखिएपछि संक्रमण सर्ने कुरा नै भएन ।
कतिपय व्यक्तिहरूमा १४ दिनपछि पनि लक्षण देखियो र पोजेटिभ देखियो भने उनीहरूमा जीवित भाइरस पनि हुन सक्छ । उनीहरू अपवाद हुन सक्छन् । त्यस्तो अवस्थामा तिनीहरूको थप परीक्षण गर्नुपर्ने अवस्था आउँछ ।
अहिलेको सरकारले बनाएको टेस्टिङ गाइडलाइनले पनि भारतबाट आउनेबित्तिकै आरटी–पीसीआर छिटो–छिटो गर्नुपर्छ भन्छ । किनभने उनीहरूले क्वारेन्टिनमा बसेर एकअर्कालाई संक्रमण सार्न सक्छन् । आरटी–पीसीआर गर्दा जस–जसलाई पोजेटिभ देखिन्छ उनीहरूलाई छुट्टै क्वारेन्टिनमा राख्नुपर्छ । ज–जसलाई नेगेटिभ देखिन्छ उनीहरूलाई पनि छुट्टै क्वारेन्टिनमा राखेर १४ दिनपछि टेस्ट गरेरै छाड्नुपर्छ ।
